बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड (BISCOL) सदस्य, समूह तथा समुदायमा आधारित वित्तीय सहकारी संस्था हो। अन्तर्राष्ट्रिय सहकारीका सिद्धान्त, मूल्य र मान्यतालाई आत्मसात् गर्दै संस्थाले आफ्ना सदस्यहरूको सामाजिक तथा आर्थिक उत्थानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
सदस्यहरूको आवश्यकता, चाहना र अपेक्षालाई केन्द्रमा राखी नवीन तथा प्रभावकारी वित्तीय एवं गैर-वित्तीय सेवाहरूको विकास तथा विस्तार गर्नु हाम्रो प्रमुख प्रतिबद्धता हो। हाल संस्थाले ७ वटा बैंकिङ कार्यालय, ९ वटा सेवा केन्द्र तथा दुर्गम क्षेत्रसम्म फैलिएका ९१५ वटा माइक्रोफाइनान्स समूहहरूमार्फत आफ्ना सदस्य तथा समुदायलाई सेवा प्रदान गर्दै आएको छ।
हाम्रो प्रतिबद्धता
प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहँदै म सम्पूर्ण सदस्य, सञ्चालक समिति तथा व्यवस्थापन समूहप्रति संस्थालाई नेपालको प्रचलित कानून, सहकारीका अन्तर्राष्ट्रिय सिद्धान्त तथा मूल्य–मान्यता अनुरूप सञ्चालन गर्दै सुशासन, पारदर्शिता, जवाफदेहिता र व्यावसायिकता कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।
असल सुशासनमार्फत कर्मचारीहरूमा स्वप्रेरणा, जिम्मेवारीबोध र उच्च उत्पादकत्व अभिवृद्धि गर्दै सदस्यहरूले उत्कृष्ट, प्रतिस्पर्धी तथा पहिलो रोजाइका वित्तीय एवं गैर-वित्तीय सेवाहरू प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नु हाम्रो लक्ष्य हो। यसबाट समुदायमा आधारित संस्था सुरक्षित, सबल, दिगो र उत्कृष्ट वित्तीय संस्थाका रूपमा स्थापित हुने विश्वास लिएको छु।
त्यसैगरी, सदस्यहरूमा संस्थाप्रतिको स्वामित्व भावना अभिवृद्धि गर्ने, उपसमितिहरूलाई थप सक्रिय र प्रभावकारी बनाउने, सञ्चालक समितिबाट प्रभावकारी निर्णय गराउने तथा ती निर्णयहरूलाई दक्ष, नवीन, स्वप्रेरित र पूर्ण जिम्मेवारीबोधका साथ व्यवस्थापन समूहबाट कार्यान्वयन गर्ने कार्यमा म नेतृत्वदायी भूमिका निर्वाह गर्नेछु।
उत्कृष्ट सेवातर्फको हाम्रो यात्रा
हामी आफ्ना सदस्यहरूलाई निष्पक्ष, पारदर्शी, विशिष्ट तथा पहिलो रोजाइका वित्तीय र गैर-वित्तीय सेवाहरू उपलब्ध गराउन प्रतिबद्ध छौँ। दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्नु, अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूलाई निरन्तर अद्यावधिक गर्नु र तिनलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्नु चुनौतीपूर्ण भए तापनि हाम्रो व्यवस्थापन समूहले ती चुनौतीहरूलाई अवसरका रूपमा ग्रहण गर्दै अघि बढिरहेको छ।
आज हामीले धेरै चुनौतीहरू पार गर्दै सदस्यहरूलाई उत्कृष्ट, सुरक्षित र सबल वित्तीय सेवा प्रदान गर्ने क्षमता विकास गरेका छौँ। यस उपलब्धिका पछाडि हाम्रो समर्पित व्यवस्थापन समूहको मेहनत, नवीन सोच, स्वप्रेरणा, जिम्मेवारीबोध र परिणाममुखी कार्यशैली रहेको छ। संस्थाको दृष्टिकोण, ध्येय तथा दीर्घकालीन लक्ष्यहरू प्राप्त गर्न प्रतिबद्ध व्यवस्थापन समूहप्रति म गर्व गर्दछु।
हार्दिक आभार
BISCOL को निरन्तर विकास र प्रगतिका लागि विश्वास, साथ, सहयोग र मार्गदर्शन प्रदान गर्नुहुने सम्पूर्ण शेयर सदस्यहरू, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिहरू, ACCU, NESFSCUN, नेपाल राष्ट्र बैंक, सहकारी विभाग, बागमती प्रदेश सहकारी रजिष्ट्रारकाे कार्यालय, राष्ट्रिय सहकारी नियमन प्राधिकरण तथा अन्य सम्पूर्ण सरोकारवालाहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु।
त्यसैगरी, संस्थाको लक्ष्य प्राप्तिका लागि निरन्तर नवीन सोच, स्वप्रेरणा, उत्साह, अनुशासन र जिम्मेवारीका साथ आफ्नो कर्तव्य निर्वाह गर्दै आउनुभएको सम्पूर्ण व्यवस्थापन समूह तथा कर्मचारीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु।
हामी सबैको सामूहिक प्रयास, विश्वास, सहकार्य र प्रतिबद्धताबाट BISCOL लाई अझ सुरक्षित, सबल, दिगो, सदस्यकेन्द्रित र समुदायको पहिलो रोजाइको वित्तीय सहकारी संस्थाका रूपमा स्थापित गर्न सफल हुने विश्वास व्यक्त गर्दछु।
धन्यवाद।